प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सुनुवाई सुरु
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासमा अहिले सुनुवाई चलिरहेको छ।
काठमाडौं, भदौ १३ : नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि विवादमा सरकारले दिएको ‘भ्याकेट’ निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको भएको छ।
यसअघि ३० वर्षे सेवा अवधि रोक्ने गरी सर्वोच्चको एकल इजलासले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सरकारले भ्याकेट निवेदन दिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासमा अहिले सुनुवाई चलिरहेको छ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले गत मंगलबार सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेको थियो। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले २१ प्रहरी अधिकारीहरुको रिटमा सुनवाइ गर्दै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सरकार सर्वोच्च पुगेको हो।
यस्तै, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले दिएको अर्को रिट निवेदनमा सनुवाईका लागि सर्वोच्चका न्यायाधीश शारंग सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ। उनीहरुले पनि उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दिएका छन् ।












