निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छः केसी
‘संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ,’ उनले भने, ‘हरेक प्रदेशमा तीन÷चार चोटि सरकार परिवर्तन हुने अवस्था आयो।’
काठमाडौं, भदौ १२ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव भएको र नेपालका लागि यस्तो व्यवस्था नै उपयुक्त भएको बताएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले गठबन्धनको भरमा सरकार टिकाउने चिन्ता पनि हटने धारणा राखे।
‘संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ,’ उनले भने, ‘हरेक प्रदेशमा तीन÷चार चोटि सरकार परिवर्तन हुने अवस्था आयो।’
एउटा गठबन्धनमा रहेर सरकार जाला कि भन्ने चिन्ताबाट उन्मुक्ति पाउन पनि निर्वाचित प्रधानमन्त्री सबैभन्दा उपयुक्त हुने उनको कथन छ। सांसद केसीले संविधान संशोधनीय भएको तर संशोधन केमा गर्ने भन्ने कुरा व्यापक सहमतिबाटै गर्नुपर्ने बताए।
समावेशी चरित्रलाई कुनै पनि किसिमको असर नपर्नेगरी संशोधन गर्नुपर्नेमा उनले जोड दिए। उनले सरकार सुशासनको पक्षमा छ भने भ्रष्टाचारमा हदम्याद थप्ने विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग राखे।
त्यस्तै देश निरन्तर अराजकता, विद्रोहतिर उन्मुख भएकामा ध्यानाकर्षण गराउँदै प्रविधिमा हुर्किएका युवाको आक्रोश सम्बोधन गर्नु राज्यको पहिलो दायित्व रहेको बताए।












