लगानीमैत्री वातावरणका लागि कानून बाधक छन् : मन्त्री भण्डारी
उनले जग्गा प्राप्तीदेखि उद्योग स्थापना सबैमा अन्तरमन्त्रालयका केही कानूनहरु बाधकको रुपमा रहेको भन्दै यसको संशोधनको प्रक्रिया अगाडि बढाएको बताए।काठमाडौं, भदौ ११ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अझै पनि थुप्रै कानूनहरु लगानीमैत्री वातावरण बन्ने कुरामा बाधक रहेको बताएका छन्।
मंगरबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको बैठकमा उनले जग्गा प्राप्तीदेखि उद्योग स्थापना सबैमा अन्तरमन्त्रालयका केही कानूनहरु बाधकको रुपमा रहेको भन्दै यसको संशोधनको प्रक्रिया अगाडि बढाएको बताए।
‘आजपनिथुप्रै कानूनहरु लगानीमैत्री वातावरण बन्ने कुरामा बाधकको रुपमा रहेका छन्। जग्गा प्राप्तीको कुरा होस्, उद्योगखानी, खनिजलगायतका कामको लागि अहिले पनि अन्तर मन्त्रालयका केही कानूनहरु बाधकको रुपमा रहे,’ उनले भने, ‘त्यसलाई पनि संशोधनको माध्यमबाट अगाडि बढाएका छौं। त्यसमा केही सुधारको प्रक्रियाहरु पनि भएका छन्।’
उनले उत्पादन र कृषिको योगदान घटेको हुँदा जीडिपी ग्रोथ जस्तो हुनुपर्ने हो नभएको भन्दै यसमा सरकार संवेदनशील रहेको पनि बताए।
विकासोन्मुख राष्ट्रको रुपमा पाउनुपर्ने सहुलियतहरु कटौटी हुँदा व्यापार नीतिमा पर्ने असरबारे मन्त्रालयले आवश्यक तयारी गरिरहेको भन्दै प्रधानमन्त्रीले पनि सरकारका प्राथमिकता संसदमा प्रस्तुत गरिसकेको उनले बताए।
समितिमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव÷असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही र प्रगतिको अवस्था बारेमा छलफल भएको थियो।