Kathmandu Press

मन्त्रालयको सचिव र डाक्टरको भेषमा ४० लाख ठगीको अभियोगमा मुद्दा 

अभियुक्त यातायात रौतहटको राजदेवी नगरपालिका–७ निवासी हुन्। यादवले आफू स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भन्दै बिरामीबाट ४० लाख ठगी गरेको दाबी अभियोगपत्रमा गरिएको छ।
मन्त्रालयको सचिव र डाक्टरको भेषमा ४० लाख ठगीको अभियोगमा मुद्दा 

काठमाडौं, भदौ ११ : स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टरको भेषमा ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा सत्येन्द्रप्रसाद यादवविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी मुद्दा दायर गरेको हो। अभियुक्त यातायात रौतहटको राजदेवी नगरपालिका–७ निवासी हुन्। यादवले आफू स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भन्दै बिरामीबाट ४० लाख ठगी गरेको दाबी अभियोगपत्रमा गरिएको छ।

Hardik ivf

प्रहरीका अनुसार काठमाडौंकी मायाश्वरीका श्रीमान उद्धवराज पन्त न्यूरोको बिरामी थिए। एक वर्षअघि श्रीमानलाई पशुपतिनाथ मन्दिर लैजाँदा मायाश्वरीको भेट सत्येन्द्रसँग भएको थियो । त्यतिबेला उनले आफ्नो नाम सत्येन्द्र अधिकारी बताएका थिए भने स्वास्थ्य मन्त्रालयको सचिवका साथै न्यूरोसम्बन्धी डाक्टर समेत भएको परिचय दिएका थिए ।

डाक्टरले लगाउने एप्रोन र स्वास्थ्य जाँचका सामग्रीसमेत लिएर यादव पन्तको घरमा समेत पुगेका थिए। त्यसपछि उनले उद्धवराजको रोग ठीक पार्न अमेरिका लैजानुपर्ने सल्लाह दिएका थिए।
अमेरिका जान बिरामीका साथै कुरुवाको समेत भिसा आफूले मिलाइदिने प्रलोभन मायाश्वरीलाई देखाएका थिए। भिसाका लागि भन्दै सत्येन्द्रले मायाश्वरीबाट पटक पटक गरेर ४० लाख रुपैयाँ लिए।

तर त्यसपछि भिसा लगाउनुको साटो उनी सम्पर्कविहीन भएका थिए। फोनसमेत गरेर सम्पर्कविहीन भएपछि स्वास्थ्य मन्त्रालय गएर बुझ्दा सत्येन्द्रले नक्कली परिचय दिएर ठगी गरेको मायाश्वरीले थाहा पाएकी थिइन्।

पछि सत्येन्द्रले पैसा फिर्ता गर्ने भन्दै ४० लाखको चेक दिएको तर ७ भदौ २०८० मा चेक साट्न जाँदा बैंक खाता पहिल्यै बन्द गरिसकेको जानकारी पाएपछि मायाश्वरीले प्रहरीमा उजुरी दिएकी थिइन्।

उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिताको दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ। ठगीको कसुरमा ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना र ठगी बराबरको बिगो भराउनुका साथै क्षतिपूर्ति समेत दिनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्