सुनकोसी नदीमा गाडी खस्यो, तीनजना बेपत्ता
खोटाङको हलेसीबाट भक्तपुरतर्फ आउँदै गरेको हाइलक्स गाडी शनिबार साँझ ५ बजे सुनकोसी नदीमा खस्दा त्यसमा रहेका तीन जना बेपत्ता भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।
सिन्धुली : मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा गाडी खसेको छ।
खोटाङको हलेसीबाट भक्तपुरतर्फ आउँदै गरेको हाइलक्स गाडी शनिबार साँझ ५ बजे सुनकोसी नदीमा खस्दा त्यसमा रहेका तीन जना बेपत्ता भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार अनुसार नदीमा हाइलक्स गाडी र तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा भक्तपुरका अविन बाक्य, बलराम घटुवा र पुनित जैरु रहेको भन्ने जानकारी आएको प्रहरी प्रमुख काफ्लेले बताए।
गाडीमा सवार सुसान्त कक्षपती भने पानीबाट पौडिएर निस्कन सफल भएका छन्। घाइते कक्षपतीलाई उपचारका लागि खुर्कोटस्थित स्वास्थ्य संस्थामा पठाइएको छ।
बेपत्ता गाडीको नम्बर खुल्न सकेको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बेपत्ता गाडी र यात्रुको खोजी तथा उद्धारमा खटिएका छन्।
घटना स्थलमा सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोलीले नदीभित्र गाडी र यात्रुको खोजी थालेको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिए।
गाडी सडकबाट करिब ६० मिटर तल सुनकोसी नदीमा खसेको छ। नदीमा घुमाउने दह भएको र बाढी आएका कारण उद्धारमा कठिनाइ भएको वडा अध्यक्ष बरालले जनाए।