मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको छ : गृहमन्त्री
उनले १८ वर्षदेखि निश्कर्षविहिन रहेको संक्रमणकालिन न्याय सम्बन्धि विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिदा निश्कर्षमा पुग्न सफल भएको स्पष्ट पारे।
धनुषा, भदौ ७ : गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गरेका हुन्।
उनले १८ वर्षदेखि निश्कर्षविहिन रहेको संक्रमणकालिन न्याय सम्बन्धि विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिदा निश्कर्षमा पुग्न सफल भएको स्पष्ट पारे।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए।
सत्ता पक्ष र प्रतिपक्ष दुबै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुराहरुमा सबै संगै मिलेर काम गर्नुपर्नेमा समेत उनले जोड दिए।
गृहमन्त्री लेखकले राजनितिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुबैमा असर परेकाले थलो परेका विकास र निर्माणका कामहरु अब दुई ठूला पार्टी मिलेर बनेको यस सरकारले पूरा गर्ने बताए।












