प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेको छ : गृहमन्त्री
गृहमन्त्री लेखकले प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए।
धनुषा, भदौ ६ : गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताएका छन्।
बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए।
प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको दाबी छ।
वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाई छ।
राजनीतिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशीता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाई छ।












