निर्वाचन विवादका १४ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाई
२०७९ सालमा भएको आम निर्वाचनमा धाँधलीको प्रश्न उठाउँदै दर्ता भएका रिटमा अहिलेसम्म टुंगो लागेको थिएन।
काठमाडौं, भदौ ५ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्वाचन विवादमा दर्ता भएका रिटमा सुनुवाई शुरु भएको छ।
निर्वाचन आयोगविरुद्ध दर्ता भएका १४ वटा रिटमा सुनुवाईका लागि एकसाथ पेसी तोकिएको छ। २०७९ सालमा भएको आम निर्वाचनमा धाँधलीको प्रश्न उठाउँदै दर्ता भएका रिटमा अहिलेसम्म टुंगो लागेको थिएन।
उम्मेदवारहरुले पुनः मतगणनादेखि पुनः निर्वाचन गराउनेसम्मका माग गर्दै रिट दिएका थिए। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउन, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीसहितको संवैधानिक इजलासमा अहिले सुनुवाई चलिरहेको छ।
सुनुवाईका लागि सुर्खेत–२ को प्रदेश सभा (१) मा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका यामलाल कँडेलसहित निर्वाचन आयोगलगायत निकायलाई विपक्षी बनाएर नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले दायर गरेको रिट, स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका धनराज गुरुङ र आयोगसमेतलाई विपक्षी बनाएर एमालेका बुद्धिमान श्रेष्ठले दायर गरेको रिटलगायत निर्वाचन विवादका १४ वटा रिटको सुनुवाईका लागि पेशी तय भएको हो ।












