Kathmandu Press

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीले गरे छलफल

छलफलमा भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा कुराकानी भएको बताइएको छ। 
महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौ, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान राष्ट्रिय महिला भलिबल टोलीसँग भलाकुसारी गरेका छन्। प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री ओलीले करिब २ घण्टा भलिबल टिमसँग बिताएका थिए।

छलफलमा खेलाडीसँगै प्रशिक्षक जगदीश भट्ट पनि सहभागी छन्। छलफलमा भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा कुराकानी भएको बताइएको छ। 

Hardik ivf

प्रधानमन्त्री निवास बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए।

प्रधानमन्त्री ओलीले दुुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको बताए। 

उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराए। खेलाडीहरुले त्यसका लागि प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए।

भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प पनि गरे। 

‘सरकारको ढुकुुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौं। आगामी खेलमा जित्छौं, जुन तपाईंहरुको मनोबल छ, त्यो साकार होस्,’ उनले भने, ‘हामीले खेल खेल्ने जित्नकै लागि हो, त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुस्। सफलता पक्कै मिल्नेछ।’

प्रधानमन्त्री ओलीले गत महिना रुसी महिला भलिबल खेलाडीहरुले आफूसँगको भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको बताए।
 

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्