‘ठूला दल मिलेको स्वभाविक मानिदैन तर महत्वपूर्ण मुद्दा सम्बोधन गर्न मिल्नैपर्छ’
उनले लोकतन्त्र प्राप्त गर्नको लागि र शसस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्नको लागि पनि सबै दलहरु मिलेको इतिहास सबैले देखेको बताए।-1724062573.jpg)
काठमाडौं, भदौ ३ : गृहमन्त्री रमेश लेखकले मुलुकमा बनेको नयाँ समिकरणले सुशासन कायम गर्ने बताएका छन्।
सोमबार चौपातो संस्थाले आयोजना गरेको प्रतिभा सम्मान कार्यक्रममा बोल्दै उनले दिगो शान्ति स्थापना गर्नका निमित्त यो सरकार गठन भएको बताएका हुन्।
‘मुलुकमा अहिले नयाँ समिकरण बनेको छ। नयाँ सरकार गठन भएको एक महिना भएको छ,’ उनले भने, ‘सरकार मुलुकमा सुशासन स्थापित गर्न, दिगो शान्ति स्थापित गराउनका निम्ती विकासका विषयहरुलाई द्रुत गतिमा अगाडि बढाउनका निम्ती र आर्थिक समृद्धितर्फ अगाडि बढ्नका लागि केही महत्वपूर्ण उद्देश्यहरु लिएर सरकार गठन भएको छ।’
गृहमन्त्री लेखकले देशमा महत्वपूर्ण एजेण्डाहरु ल्याउनकै लागि संसदमा भएका ठूला दल मिलेको बताए। उनले लोकतन्त्र प्राप्त गर्नको लागि र शसस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्नको लागि पनि सबै दलहरु मिलेको इतिहास सबैले देखेको बताए।
‘सामान्यत हेर्दाखेरि संसदमा रहेका दुई ठुला दलहरु मिलेर सरकार बनाउने अभ्यास भनेको यो स्वभाविक देखिँदैन। कतिपय अवस्थामा स्वभाविक मानिँदैन, तर संसद्मा भएका देशका सबैभन्दा ठुला दलहरु मिलेर सरकार बनाउने अभ्यास गर्यौं,’ उनले भने, ‘विगतमा इतिहासले केही कुराहरुलाई स्थापित गरेको छ र पुष्टिसमेत गरेको छ। जब मुलुकमा केही महत्वपूर्ण एजेण्डाहरु आउँछन्, मुलुकमा केही महत्वपूर्ण कार्यहरु सम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका लागि केही साझा कार्यभारहरुलाई सम्पादित गर्नुपर्ने हुन्छ । त्यस्तो बेला देशका ठूला पार्टीहरु एक ठाउँमा उभिएर मुलुकका तमाम विषय सम्बोधन गरेको इतिहास छ।’
उनले देशमा लोकतन्त्रको सवाल होस् या पछिल्लो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्नको लागि होस् या राजाले मुलुकको लोकतन्त्र समाप्त गरेर देशमा अधिनायकबाद स्थापित गर्ने प्रयत्न गर्दा त्यसका विरुद्ध अन्तरिम संविधान स्थापित गर्नका लागि पनि सबै दल मिलेर देशका महत्वपूर्ण एजेण्डाहरुलाई सम्बोधन गरेको बताए।












