सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्कीले प्रदेशलाई आमनागरिकहरुले देख्नु, छुन र अनुभूति गर्नसक्ने संरचनाका रुपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ बताए।
मोरङ, साउन ३२ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
सरकारको नेतृत्व गरेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सवलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जवाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवर्द्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले काम गरिरहेको बताए।
उनले अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको बताए।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई आमनागरिकहरुले देख्नु, छुन र अनुभूति गर्नसक्ने संरचनाका रुपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ बताए। उनले भने, ‘प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको छ।’
प्रदेश सरकारले थोरै समयमा सडक सुशासन कायम गर्न विभिन्न ठाउँमा ट्राफिक लाइट जडान, जोगबनीदेखि उत्तर चीनसँग जोडिने किमाथांका सडकको नाका सञ्चालन, प्रदेशमा ८ वटा पशु कार्यालय स्थापना, आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी, सुनसरीको सर्दुखोला पुलको निर्माण सुरु गरेको बताए।
जनताका शान्तिसुरक्षा कायम गर्न विभिन्न स्थानमा अस्थायी प्रहरीचौकी स्थापना गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले तेह्रथुम सदरमुकाम जोड्ने प्रदेश सरकारको ९० करोड लगानी शुक्रबारे–सिधुवा सडकको उद्घाटन पनि प्रदेशको महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले मुख्यमन्त्री कार्यालयमा गुनसो सुनवाइ कक्ष निर्माण, सुशासनका निम्ति प्रशासकीय सुधार कार्यक्रम र दिगो विकासका निम्ति मन्त्रालयका सबै सचिवहरुलाई पटकपटक निर्देशन भइरहेको जानकारी दिँदै प्रदेश सरकारको सय दिनको अवधिमा ६० वटा महत्वपूर्ण काम गरेको र जसबाट प्रदेशवासी लाभान्वित भएको जानकारी दिए।