‘मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो’
‘अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ। त्यो पूर्वतयारीको नतिजा हो,’ उनले भने, ‘हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन्। केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौं।’
काठमाडौं, साउन २७ : गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताएका छन्।
राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखक यस्तो बताएका हुन्।
‘अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ। त्यो पूर्वतयारीको नतिजा हो,’ उनले भने, ‘हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन्। केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौं।’
बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो। गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराएका थिए।
‘नेपालमा मनसुन अझै डेढ महिनाभन्दा बढी समय रहन्छ, देशका अधिकांश भागमा सरदरभन्दा बढी पानी परेर जमिन गलेका कारण विपद्का घटना हुनसक्ने भएकाले चनाखो हुँदै थप कदम चाल्ने काम भइरहेको छ,’ उनले भने।
गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिँदै थप १७ करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको बताए।
गृहमन्त्री लेखकका अनुसार २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का एक हजार दुई सय १२ घट्ना घटेकामा पहिरो, बाढी र चटयाङमा परी एक सय ७० जनाको मृत्यु भएको थियो। ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका थिए।
बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारवाही थाल्ने बताए।
‘सिमलताल दुर्घटनाका सम्बन्धमा गृहमन्त्रीस्तरको निर्णयबाट सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन भई यसले प्रतिवदेन पेस गरेको छ । प्रतिवदेनले यस प्रकारका घटना आगामी दिनमा हुन नदिन र सम्बन्धित निकायले गर्नुपर्ने सुझाव पेस गरेको छ,’ उनले भने।
बैठकमा सांसदहरुले गृहमन्त्री लेखकलाई सडक असुरक्षित भएका, विकासको ढाँचा परिवर्तन गर्नुपर्ने, विपद्बाट पीडितलाई राहतमा ढिलाइ नगर्न, क्षति न्यूनीकरणमा र उद्धार तथा राहतमा ध्यान दिन, पूर्वतयारीलाई प्राथमिकता दिन, चाडपर्वका बेला यातायात सेवा व्यवस्थित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए।












