केन्द्रिय समितिमा डा. कोइरालले भने– नेपालमा दक्षिण एसियाको राजनीतिक द्वन्द्वको प्रभाव पर्न थाल्यो, सचेत हुनुपर्छ
राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र नभई अन्तर्राष्ट्रिय शक्ति केन्द्र समेत रजाईं गर्न पछि नपर्ने भएकाले कांग्रेस यसमा गम्भीर हुनुपर्ने उनले बताए।
काठमाडौं, साउन २७ : नेपाली कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दक्षिण एशियाको राजनीतिक द्वन्द्वको प्रभाव नेपालमा समेत परेको बताएका छन्।
आइबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले मुलुक नसोचिएको संकटतर्फ जाने होकि भनेर सचेत हुनुपर्ने बेला आएको बताए।
राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र नभई अन्तर्राष्ट्रिय शक्ति केन्द्र समेत रजाईं गर्न पछि नपर्ने भएकाले कांग्रेस यसमा गम्भीर हुनुपर्ने उनले बताए।
‘दक्षिण एसियाको राजनीतिक द्धन्द्धले नेपाल र नेपालीको मनोभाव माथि प्रभाव परेको म बुझ्दछु। यसमा केन्द्रिय कार्यसमिति गम्भीर हुनुपर्छ। मुलुक नसोचिएको संकटतर्फ जाने हो की भन्ने चिन्ता सबै नेपालीमा छाएको छ,’ उनले भने, ‘राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र होइन अन्तराष्ट्रिय शक्ति केन्द्रले पनि हामी माथि रजाईं गर्न पछि पर्दैनन्।’
नेता र राजनीतिप्रती जनताको बितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै कोइरालाले राजनीतिक दल, नेता, प्रणाली र संविधान माथि नै जनता असन्तुष्ट रहेको बताए।
नेता कोइरालाले वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गर्दै सरकारले संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिनुपर्ने बताए।
वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेको भएपनि व्यवहामा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काइरहेको उनले बताए।












