क्वारेन्टाइनमा आज ‘अंधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’
काठमाडौं, चैत २७ : क्वारेन्टाइन अभियान नाट्य उत्सवको आज १४औं दिन दुई नाटक देखाइने भएको छ। दिउँसो १ बजे हाँस्यव्यंग्यशैलीको ‘अँधेरी नगरी चौपट&nbs....

काठमाडौं, चैत २७ : क्वारेन्टाइन अभियान नाट्य उत्सवको आज १४औं दिन दुई नाटक देखाइने भएको छ। दिउँसो १ बजे हाँस्यव्यंग्यशैलीको ‘अँधेरी नगरी चौपट राजा’ देखाइने लागेको छ भने साँझ ‘द फ्लाइट’को तालिका रहेको छ।
थिएटर मलको फेसबुक पेजमा प्रसारण हुने ‘अँधेरी नगरी चौपट राजा’ नाटकलाई साहित्यकार भारतेंदु हरिश्चन्द्रले लेखेका हुन्। यस नाटकमार्फत विवेकहीन र निरंकुश शासन व्यवस्थामाथि व्यङ्ग्य प्रहार गरेको छ। यसलाई आशिष घिमिरे र संगीत सापकोटाले नेपालीमा अनुवाद गरेका हुन्।
सापकोटाले नै संगीत संयोजन गरेको नाटकमा कलाकार जीवन भट्टराई, आर्जेश रेग्मी, दीपेन्द्र शाही, प्रक पाण्डे, सागर दाहाल, पुष्कर कार्की, बारात लिम्बुलगायतको अभिनय रहेको छ। यो नाटक कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चन भएको थियो।
आज बेलुकी ५ बजे देखाइने ‘द फ्लाइट’ नाटकमार्फत मानव तस्करीविरुद्ध आवाज उठाइएको छ। एलिज बियनको लेखन तथा निर्देशन रहेको नाटकमा किरण श्रेष्ठ, पशुपति राई, विजया राई, सृष्टि महर्जन, सरोज श्रेष्ठ, निशिला शाक्य, सलमान खान गुरुङ, जेडी तमु, विक्रम श्रेष्ठ, सुशील भण्डारीलगायतको अभिनय रहेको छ।
यो नाटक रसियन कल्चर सेन्टरमा मञ्चन भएको थियो। अहिले भिडियो प्रसारण गर्न लागिएको हो।












