Kathmandu Press

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे।
‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’
फाइल तस्बिर।

बाँके, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। 

नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताए। 

अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गरे। ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो। अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रुपमा काम गर्दै जानेछौं। यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु,’ उनले भने।

Hardik ivf

अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे।

‘सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो। त्यसका लागि व्यवस्थित तरिकाले काम गर्न जरुरी छ,’ मन्त्री पौडेलले भने, ‘गरिरहेको काममा अलि बढी योगदान गर्नुपर्ने अवस्था छ। अतिरिक्त समयमा काम गरेर भए पनि नागरिकलाई सेवा दिऔँ, त्यसबापतको गर्नुपर्ने सहयोग मन्त्रालयले गर्नेछ।’

भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रुपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।

अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउनेगरी व्यवस्था गर्न आग्रह गरे। भेरी अस्पतालमा न्यूनतम दरबन्दी उपलब्ध गराई चिकित्सक र स्वास्थ्यकर्मी बढाइने आश्वासन दिए।

‘अहिले भएको स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा दिनुहोस्, एमआरआइ र सिटीस्क्यानको सेवा नागरिकले पाउनुपर्छ, यो सेवा बाहिर गरेर उपचार गर्न भेरीमा आउनुस् भन्न मिल्दैन,’ मन्त्री पौडेलले भने।

यस्तै भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा। प्रकाश थापाले भेरी अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराए। 

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताए।

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्