कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ एजेण्डा छलफलका लागि पेस
बुधबार बसेको बैठकमा ११ वटा एजेण्डा पेस भएको र यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि भोली बिहीबारबाट छलफल हुने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका हुन्।
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेण्डा छलफलका लागि पेस भएको छ।
बुधबार बसेको बैठकमा ११ वटा एजेण्डा पेस भएको र यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि भोली बिहीबारबाट छलफल हुने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका हुन्।
‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए। ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलीबाटै हुन्छ।’
उनले राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा कार्यसम्पादनको समितिले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको पनि जानकारी दिए।
‘राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा जुन कार्यसम्पादनको समितिले निर्णय गरेको थियो। ती निर्णयलाई यहाँ अनुमोदन गर्ने प्रस्ताव आएको छ। त्यो अनुमोदन आज कै बैठकले गरिसकेको छ,’ उनले भने।
उनका अनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस हुनुकासाथै सो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव पनि आएको छ।












