दिगो शान्ति र सुशासनको आकांक्षा पूरा गर्नु सबैको दायित्व हो : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको बताए।
काठमाडौं, साउन २३ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासनको आकांक्षा पूरा गर्ने दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताएका छन्।
बुधबार नेपाल जन–प्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहमा उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउँदै राज्यबाट प्राप्त सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा हुने बताए।
राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको बताए।
‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ सधैं क्रियाशील रहोस्,’ उनले भने।
उनले पूर्वप्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गरेका छन्।
उनले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने नेपाल जन–प्रशासन संघले महत्वपूर्ण काम गरेको भन्दै खुशी पनि व्यक्त गरेका छन्।












