बिपी राजमार्ग अवरुद्ध
रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।काभ्रे, साउन २२ : अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण विपी राजमार्ग अवरुद्ध भएको छ।
मंगलबार बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ। रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन्। ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ। वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ।
यस्तै वर्षाका कारण आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार माथिबाट आएको पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले एकतर्फी खुलाएको छ। दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ।
उक्त राजमार्गको अन्य स्थानमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ।