स्काउटको नयाँ ऐन चाँडै आउँछ : मन्त्री चौधरी
मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन्।
काठमाडौं, साउन २२ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्।
मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन्।
‘२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ,’ उनले भने।
देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
सात सय ५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मन्त्री चौधरीको विश्वास छ।
मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरे।
‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ,’ उनले भने।