‘धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ’
‘मानिसलाई दुई किसिमको रोग लाग्छ। एउटा शारीरिक र अर्को मानसिक। आज शारीरिकभन्दा मानसिक रोगबाट मानिस बढी ग्रस्त छन्। मानसिक रोगको खासै उपचार छैन। एलोपेथिक औषधिले त्यसलाई सजिलै निको बनाउन सक्दैन,’ उनले भने।-1722866833.jpg)
तनहुँ, साउन २१ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउने बताएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको शिव महिमा बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक रुपमा स्वस्थ हुन हरेक मानिस धार्मिक हुनुपर्ने बताए।
‘मानिसलाई दुई किसिमको रोग लाग्छ। एउटा शारीरिक र अर्को मानसिक। आज शारीरिकभन्दा मानसिक रोगबाट मानिस बढी ग्रस्त छन्। मानसिक रोगको खासै उपचार छैन। एलोपेथिक औषधिले त्यसलाई सजिलै निको बनाउन सक्दैन,’ उनले भने।
धर्म स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले धर्मले मानिस स्वस्थ बन्न सक्ने उनले बताए। भने, ‘धार्मिक व्यवहार स्वास्थ्यसँग जोडिएका छन्। धार्मिक मान्छे मानसिक रुपमा स्वस्थ हुन्छ मानसिक रुपमा स्वस्थ भएको मानिस सुखी हुन्छ।’
मुक्तिनाथ च्वयनधामले धर्म संस्कृतिको संरक्षण मात्र होइन यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुगेको मन्त्री पौडेलको भनाइ थियो। उनले हरेक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। स्वास्थ्य क्षेत्र पद्धतिबाट नचलेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने बताए।
नेपालमा पर्याप्त अस्पताल भएपनि राम्रोसँग सेवा प्रवाह हुन नसकेकाले अस्पतालको सेवा सुविधा गुणस्तरीय बनाउनेतर्फ सरकारको ध्यान रहने बताए।












