प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति
‘प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याइ हुने छैन भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने।
काठमाडौं, साउन २१ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अविश्राम र अथक संघर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन्।
प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनले त्याग र संघर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे।
‘प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याइ हुने छैन भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
‘नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा तपाईहरूको सङ्घर्ष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईहरूका लागि राज्यले जे जति काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु,’ उनले भने।
सहिद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र संघर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको राष्ट्रपति पौडेलको भनाइ थियो। उनले राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पूरा हुन सके मात्र मुलुक विकासको बाटोमा अघि बढ्ने र हामीले अपनाएको शासन प्रणाली सुदृढ हुने बतद्धाए।
त्यसपछि मात्र लोकतान्त्रिक मूल्य–मान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउने बताउँदै उनले यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने बताए।
त्यस अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए।












