स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : मन्त्री पौडेल
‘गुणस्तरीय स्वस्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न अस्पतालका भौतिक संरचना बनाएर मात्रै हुँदैन भएका संरचनाको उपयोग गरी सहज सेवा प्रवाहको वातावरण तयार गर्ने प्रयासमा रहेका छौं,’ उनले भने।
तनहुँ, साउन २१ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन्।
कांग्रेस तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र आमनागरिकको नैसङ्र्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताए।
‘गुणस्तरीय स्वस्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न अस्पतालका भौतिक संरचना बनाएर मात्रै हुँदैन भएका संरचनाको उपयोग गरी सहज सेवा प्रवाहको वातावरण तयार गर्ने प्रयासमा रहेका छौं,’ उनले भने।
आमनागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन स्वास्थ्य बीमालाई व्यवस्थित गरिने उनले प्रतिबद्धता जनाए। ‘स्वास्थ्य बीमालाई व्यवस्थित, बीमितको प्रिमियमलाई व्यवस्थित गर्न स्वास्थ्य बीमालाई बीमाको सिद्धान्तअनुसार अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘त्यसका लागि स्वास्थ्य बीमा क्षेत्रमा हाल देखिएका समस्या र गुनासा सम्बोधनमा जोड दिनेछौं।’
केही वर्षपछि चिकित्सक नै अस्पतालमा अभाव हुने अवस्था देखिने चिन्ता व्यक्त गर्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा अध्ययनलाई सहज बनाउन आवश्यक रहेको उल्लेख गरे।
‘केही वर्षमा चिकित्सा शिक्षाका लागि विद्यार्थी नपाइने अवस्था आउन सक्छ। यसकारण दुई सय ५० शय्या क्षमताका अस्पतालमा चिकित्सा शिक्षा अध्ययन गराउने व्यवस्था हुनुपर्छ, यसले विदेशिने युवाको सङ्ख्यामा पनि कमी आउनसक्छ,’ उनले भने।
तीन तहका सरकारको सहकार्य तथा समन्वयमा सबै अस्पतालको सेवा विकासमा लाग्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउन प्रस्ताव माग भएको उनले जानकारी गराए।












