जेल र बाहिर रहेका सहकारी सञ्चालकलाई एकसाथ सोधपुछ गरिने
‘हामीले प्रतिवेदनको प्रारुपमा बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौं। अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ,’ उनले भने, ‘प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरु अनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौं।’
काठमाडौं, साउन २१ : सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य बहादुर थापाले जानकारी दिए।
‘हामीले प्रतिवेदनको प्रारुपमा बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौं। अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ,’ उनले भने, ‘प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरु अनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौं।’
उनले सचिवालयबाट प्रतिवेदनको विषयवस्तुसहितको आउटलाइन बैठककमा प्रस्तुत भएको र त्यसमा सांसदहरुले आफ्नो धारणा राखेको पनि जानकारी दिए।
बैठकले सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै अघि बढाउने र त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने, सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने भन्नेबारे पनि छलफल भएको उनले बताए।
‘सचिवालयबाट प्रतिवेदनको विषयवस्तु सहितको आउटलाइन बैठककमा प्रस्तुत भएको छ। त्यसमा माननीयज्यूहरुले आफ्नो आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने, ‘प्रतिवेदन मस्यौदाको काम सँगसँगै अगाडि बढाउने र अनुसुचि १ र २ सँग सम्बन्धित सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै बढाउने छौं,’ उनले भने ‘त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने र सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने छलफल गरेका छौं।’












