‘सरकार निरंकुश बन्नसक्छ, खबरदारी जरुरी छ’
नेता कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताए।
काठमाडौं, साउन २० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको भन्दै सरकारलाई ठिक बाटोमा ल्याउन आवाज उठाउनुपर्ने धारणा राखे।
‘अहिले कहिँकतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुईवटा ठूला दल सरकारमा छन्। नेपाली कांग्रेस र एमाले ठूला दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने पनि त्यतिकै शंका छ,’ उनले भने, ‘हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि सरकार ठिक बाटोमा हिंड्छ र हामी अगाडि बढ्न सक्छौ।’
नेता कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताए।
‘कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लाने, मजबुत कसरी बनाउने भन्ने चिन्ता छ। राजनीतिक स्थायीत्व भएन भनेर सरकार बनाएको हो। यसले नीति पनि परिवर्तन हुन्छ र अप्ठेरा परिस्थिति पनि सिर्जना गर्छ,’ उनले भने, ‘सरकारमा स्थायीत्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुन सक्ने लगायतका कारणले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौं।’
उनले अहिले पार्टी कमजोर भएको र नेताहरू कहिँकतै अल्झिएको जस्तो अनुभुती भएको बताए।
०८४ को निर्वाचनमा कुनै दलको बैशाखी लिएर नभई एक्लै चुनाव लड्ने क्षमता बनाउन आवश्यक रहेको उनको भनाई छ












