एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा केन्द्रित छन् : मन्त्री भण्डारी
मन्त्री भण्डारीले सहकारीमार्फत उत्पादनसँग, उद्योगसँग, व्यवसायसँग यसको आकारलाई विस्तार गर्न सकिने बताए।
काठमाडौं, साउन १९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको जनसंख्याको हिसाबले एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा रहको बताएका हुन्।
‘यतिबेला राष्ट्रिय रुपमै सहकारी भित्र एक खालका प्रश्नहरू छन्, जे खालका समस्याहरु छन् ति समस्याहरुलाई सरकारले सम्बोधन गर्नुपर्नेछ,’ उनले भने, ‘नेपालको जनसंख्याको एक तिहाइ सहकारी आन्दोलनसँग प्रत्यक्ष रुपमा सहभागी हुनुहुन्छ, राज्यले, संविधानले सहकारी क्षेत्रलाई, सहकारी आन्दोलनलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्साको रुपमा, महत्वपूर्ण क्षेत्रको रुपमा परिभाषित गरेको छ। यसलाई तीन खम्बे अर्थनीतिभित्र एउटा विशेष खालको राज्यले परिभाषित गरेको छ।’
उनले आमजनता र व्यवसायीहरुले आफ्नो गाँस काटेर सहकारीमा जम्मा गरेको पैसाको मात्र हिस्सा खोजेको बताए। उनले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो भनेर जम्मा गरेको पूँजी उत्पादन क्षेत्रमा नलागेको दाबी गरे।
मन्त्री भण्डारीले सहकारीमार्फत उत्पादनसँग, उद्योगसँग, व्यवसायसँग यसको आकारलाई विस्तार गर्न सकिने बताए। पछिल्लो सहकारी क्षेत्रको पूँजी उत्पादन क्षेत्रमा नलागेको बताउँदै सहकारीको पूँजीलाई उद्यमशिलतामा केन्द्रि गर्नुपर्ने बताए।












