सिनामंगलस्थित झरना गेस्ट हाउसमा युवा–युवती मृत भेटिए
प्रहरीले जनाए अनुसार झरना गेष्टहाउसको कोठा नम्बर– ४०२ मा बस्दै आएका उनीहरू शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएका थिए।
काठमाडौं, साउन १८ : काठमाडौँको सिनामंगलस्थित झरना गेस्ट हाउसमा युवायुवती मृत फेला परेका छन्।
बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९ वर्षकी करिस्मा सार्की मृत भेटिएका हुन्।
सिनामंगल शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ। उनीहरू साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बसेको खुलेको छ।
प्रहरीले जनाए अनुसार झरना गेष्टहाउसको कोठा नम्बर– ४०२ मा बस्दै आएका उनीहरू शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएका थिए।
खाना खान बोलाउँदा नबोलेपछि होटल संचालकले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा दुबै मृत अबस्थामा भेटिएका थिए। युवतीको घाँटी काटिएको र युवक झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति हेर्दा युवतीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले मुचुल्का तयार गरी अनुसन्धान अगाडी बढाएको जनाइएको छ।












