‘प्रदेश सरंचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी’
मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिए।मोरङ, साउन १७ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताएका छन्।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को दुई दिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीलाई निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह राष्ट्रका लागि भएकाले प्रदेशलाई स्थापित गराउन जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिए।
मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने बताउँदै बेरुजु फर्छ्यौट गर्नुपर्नेमा जोड दिए। प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी काम गरी जनताको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिए।