गुरुङ सम्पदा पदमार्ग घोषणा
संघले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मर्स्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा पोखरामा आयोजित समारोहमा उक्त पदमार्ग घोषणा गरेको हो।कास्की, साउन ९ : गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ।
संघले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मर्स्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा पोखरामा आयोजित समारोहमा उक्त पदमार्ग घोषणा गरेको हो।
पदमार्गको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै औपचारिक रुपमा घोषणा गरेका थिए।
उनले पछिल्लो समय पदमार्गहरू मासिँदै गएका अवस्थामा घोषित गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशसहित पदयात्रा पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।
पर्यटन क्षेत्रको विकासलाई दृष्टिगत गर्दै प्रदेश सरकारले प्रदेशस्तरीय पर्यटन गुरुयोजना तयार गर्ने मन्त्री गुरुङले बताए। गण्डकी प्रदेशमा आठ हजार मिटर भन्दामाथि तीनवटा हिमाल रहेका चर्चा गर्दै उनले यहाँको पर्वतीय र पदयात्रा पर्यटनको सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिए।
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले गत जेठ २१ देखि ३० गतेसम्म ताङतिङबाट तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा इञ्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट, सञ्चारविज्ञ, पर्यटक पथप्रदर्शकसहित ३७ सदस्यीय टोलीले स्थलगत अनुसन्धान गरेको जानकारी दिइन्।
संघका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने बताए।
प्रकृति र संस्कृतलाई पर्यटनसँग जोड्ने यो पदमार्गको संरक्षण, प्रवर्द्धन र उपयोगमा राज्य तथा निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेकामा उनले जोड दिए।