कोशी प्रदेश सचिव भट्टराईमाथि सेवाग्राहीबाट कमिशन लिएको आरोप
भट्टराईकोे प्रतिवाद गर्दै कार्कीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सचिव भट्टराईले कमिशन मागेको, कार्की समेतको बदनाम गरेको आरोप समेत लगाएको छ। भट्टराईलाई धम्की दिएको नभै पूर्वमुख्यमन्त्रीले सचेत मात्र गराएको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं, साउन ८ : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको सचिवालयले सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीबाट कमिशन लिएको आरोप लगाएको छ।
सचिव भट्टराईले यसअघि पूर्वमुख्यमन्त्री कार्कीविरुद्ध आफूलाई कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दाबीसहित जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबारै उजुरी दिएका थिए।
भट्टराईकोे प्रतिवाद गर्दै कार्कीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सचिव भट्टराईले कमिशन मागेको, कार्की समेतको बदनाम गरेको आरोप समेत लगाएको छ। भट्टराईलाई धम्की दिएको नभै पूर्वमुख्यमन्त्रीले सचेत मात्र गराएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमा सचिव भट्टराईले कार्कीविरूद्ध अनर्गल प्रचार गरेको र त्यही विषयमा सचेत गराएको जनाइएको छ।
‘पूर्वमुख्यमन्त्री कार्कीज्यूको कार्यकालमा विराटनगरमा सम्पन्न विराट गोल्डकप र कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधिको भुक्तानीका लागि बजेट रकमान्तर गराई मन्त्रिपरिषद्को निर्णय गरी भुक्तानी दिने तयारी सचिव ज्यूले स्वयं गर्नुभएको अवगत गराउन चाहन्छु,’ कार्कीका स्वकीय सचिव दिवस राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सचिवज्यूले रकम भुक्तानीको मन्त्रिपरिषद् निर्णयका लागि टिप्पणी उठाएर अर्थ मन्त्रालयको सहमतिसमेत लिनुभयो। त्यसपछि सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिशन मागेका थिए । तर कमिशन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषद्मा प्रस्ताव लग्न छाडेर काठमाडौं जानुभएको र लामो समय विदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु।’