कांग्रेसका बहादुर सिंह लामाद्धारा बागमतीकाे मुख्यमन्त्रीमा दाबी पेश
नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ गरी ६४ सांसदको समर्थनमा लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।
हेटौंडा, साउन ८ : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन्।
नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ गरी ६४ सांसदको समर्थनमा लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।
आइतबार प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुख कार्यालयका अनुसार लामाले दाबी पेश गरेसँगै मंगलबार नै साँझ ५ बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ।
बागमतीमा कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको कांगेस कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेस र नेकपा एमालेसँग ६४ सांसद छन्। प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन्।
नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन्।




