Kathmandu Press

अस्पतालमा ओपीडी दुई सिफ्ट चलाउन स्वास्थ्य मन्त्रीको निर्देशन

निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ।
अस्पतालमा ओपीडी दुई सिफ्ट चलाउन स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं, साउन ६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका छन्।

मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफलपछि मन्त्री पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्।  

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ।

यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ।

चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ।

अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेलगायत निर्णय पनि भएको छ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्