मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन
‘मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु,’ उनले भने।
काठमाडौं, साउन ५: खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन्।
आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
उनले काठमाडौँवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे।
‘मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु,’ उनले भने।
मन्त्री यादवले हाल काठमाडौँमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए। उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे।