शेखरलाई सुजाताको साथ, भनिन्– नेतृत्व स्वीकार्य छ
‘डा.शंशाक पनि यहाँ आउनुपर्छ। हामी उहाँलाई ल्याएरै छाड्छौ। सबै मिलेर अघि बढौं, हामी कोहीबीच विवाद छैन। देशको निकासका लागि हामी एक ढिका हुनुपर्छ,’ उनले भनिन्।काठमाडौं, साउन ४ : नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएकी छिन्।
शुक्रबार वालुवाटारस्थित डा. शेखर कोइरालाको सचिवालयमा पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले डा.शेखरको नेतृत्व स्वीकार्ने बताइन्।
‘देशको अवस्था गम्भीर छ । हामी एकजुट भएर अघि बढेनौं भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन र मुलुकपनि रहँदैन, हामी कोहीपनि रहँदैनौं। त्यसैले हामी कसैले केही त्याग गर्नैपर्छ,’ उनले भनिन्,‘हामी कोइराला परिवारमा केही विवाद छैन्। शेखर दाले धेरै मेहेनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ । उहाँको नेतृत्वलाई सबैले साथ दिनुपछ ।’
डा.शेखरको निमन्त्रणामा सचिवालयमा पुगेकी नेतृ कोइरालाले डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताइन्।
‘डा.शंशाक पनि यहाँ आउनुपर्छ। हामी उहाँलाई ल्याएरै छाड्छौ। सबै मिलेर अघि बढौं, हामी कोहीबीच विवाद छैन। देशको निकासका लागि हामी एक ढिका हुनुपर्छ,’ उनले भनिन्।
भेटघाटका क्रममा डा. शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एकढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाए।
‘कांग्रेसबीच एकता आवश्यक छ। गिरिजाबाबुले भन्दै आउनुभएको सहमति, सहकार्य र एकताको कुरा आज सान्दर्भिक छ,’ उनले भने,‘कोइराला परिवारमा सम्बन्ध कहिल्यै बिग्रिएको छैन। तर कोहीबेला यताउता हुन्छ, त्यो सामान्य हो।’












