संघीय अस्पतालहरूलाई अतिरिक्त समयमा सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ विधिबमोजिम सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको हो।
काठमाडौं, साउन ४ : स्वास्थ्य मन्त्रालयले संघीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार यस्तो निर्देशन दिएको हो।
गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ विधिबमोजिम सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको हो।
अस्पतालले अतिरिक्त समयमा सेवा सञ्चालन गरेबापत चिकित्सक सेवा शुल्क सरकारले तोके अनुसार र अन्य सेवा शुल्क अस्पतालले नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने छन्।
अस्पतालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने स्थानमा राख्नुपर्ने छ। सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।