विदेश भ्रमणपछि काठमाडाैंमा बस्दै आएका ११७ व्यक्तिको विवरण संकलन
काठमाडौं, चैत २४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं महानगरपालिकाले विदेश भ्रमण गरी फर्किएर महानगरपालिका भित्र बसोबास गर्दै आएकाहरुको विवरण स....

काठमाडौं, चैत २४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं महानगरपालिकाले विदेश भ्रमण गरी फर्किएर महानगरपालिका भित्र बसोबास गर्दै आएकाहरुको विवरण संकलनलाई तीव्रता दिएको छ।
महानगरपालिकाले २०७६ फागुन १८ भन्दापछि विदेशबाट फर्किएका मानिसको विवरण संकलन गर्न थालेको हो। विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला परिवारलाई खतरामा पार्ने र त्यसपछि छिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विवरण संकलन सुरु गरेको हो।
आइतबारसम्म महानगरपालिकाले १ सय १७ जनाको विवरण संकलन गरेको छ। विदेशबाट फर्किएका र अझै भारतबाट आएका मानिस अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम पालना गर्न विवरण संकलनको कामलाई तीव्र रुपमा अघि बढाएको महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यका अनुसार पहिलो चरणमा ३२ वटै वडामा पछिल्लो एक महिनामा विदेश भ्रमण गरी फर्किएर आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने र आवश्यकता अनुसार परीक्षणको लागि स्वाब संकलन गर्ने तयारी गरेको छौं। त्यसो गरेमा परिवार, छरछिमेक र समाजमा त्रास नहुने उनले बताए।
‘सकेसम्म कसैलाई पनि कोरोना संक्रमण नहोस भन्ने हाम्रो कामना छ,’ उनले भने, ‘यदि कसैमा देखियो भने पनि उनीहरुलाई अपराधीको जस्तो व्यवहार गर्ने होइन, उपचार गर्ने व्यवस्था गर्नुपर्छ।’ उनले अहिले वडा–वडामा क्वारेन्टाइनको लागि उपयुक्त ठाउँ खोजी भइरहेकोसमेत बताए।
महानगरपालिकाका प्रशासन प्रमुख नमराज ढकालका अनुसार विवरण संकलन गरिएका १ सय १७ मध्ये सबैभन्दा बढी दुबईबाट फर्किएका व्यक्ति रहेका छन्। तीमध्ये कतिपय सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने कतिको अवस्था सामान्य रहेको उनले बताए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
