माहशाखा प्रमुखहरूलाई मन्त्री पाैडेलले भने– पाँचदिन भित्र जनताकाे समस्या सामाधानको खाका ल्याउनुहोला
‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजमभित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,’ उनले भने।
काठमाडौं, साउन ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।
मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रीफिङसहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउनेभन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।
‘सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिनभित्र मलाइ लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं,’ मन्त्री पौडेलले भने।
उनने स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए।
‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजमभित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,’ उनले भने।
मन्त्री पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने, ‘हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रीत हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफुले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।’
उनले स्वास्थ्यमा धेरै ठूलो जनशक्ति रहेकाले त्यसलाई सहि ढंगबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए। पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे।
‘कहि आवश्यकता भन्दा बढी जनशक्ति छ, कही जनशक्ति अभाव छ भन्ने छ, नीतिगत बिषय पनि सुल्झाउ, कार्यान्वयनको पाटोलाइ पनि हेरौ, पहुँच र लिगेसीको आधारमा कुनै कुरा हुन्न, सिस्टम बनाउने हो,’ उनले भने।
उनले जनशक्तिलाई बेकामे नबनाउने गरेर योजना बनाउन र ग्रामिण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका बिभागीय प्रमुखहरुसँग आग्रह गरे।
मन्त्री पौडेलले मन्त्रालयले आमजनतामा रोग नै लाग्न नदिन के गर्ने भनेरसमेत जनचेतनामूलक सामग्री पुर्याउन नसकिएको भन्दै त्यतातर्फ पनि प्राथमिकता हुनुपर्ने बताए।












