Kathmandu Press

कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

काठमाडौं, चैत २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा सोमबार एक वेब एप जारी गरेको छ। कांग्रेसको केन्द्रीय सूचना, सञ्....

कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

काठमाडौं, चैत २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा सोमबार एक वेब एप जारी गरेको छ। कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए।

वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए। साथै कसैमा कोरोना संक्रमण भएको सङ्केत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त वेब एपको विशेषता रहेको छ।

नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए। 

उक्त एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष, डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानालाई तोकिएको छ।

एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ। थप सुझाव ग्रहण गर्दै वेब एपको भर्सन परिमार्जित गरिँदै जाने प्रवक्ता शर्माले बताए।

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्