ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याएको बताए।काठमाडौं, साउन २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताए। उनले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युतले यहाँको अभावलाई कम गर्न सघाउ पुर्याएकामा राजदूतलाई धन्यवाद दिए।
भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याएको बताए। उनले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाए।
नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरी पहिलो पटक यहाँ उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् व्यापार निगमबीच जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणसमेत दिए।
राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताए। उनले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।












