महान्यायाधिवक्तामा बडाल नियुक्त
सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ता बन्न सक्ने संवैधानिक प्रावधान छ। महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ।
काठमाडौं, साउन २ : वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।
सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ता बन्न सक्ने संवैधानिक प्रावधान छ। महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ।
बडाल यसअघि पनि केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त भएका थिए। प्रतिनिधिसभा विघटन मुद्दाको पक्षमा बहस गरेका थिए। उनकै नेतृत्वमा ८७ जना कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्चमा पेश गरेका थिए।
बडालले श्रमका मुद्दामा धेरै वकालत गरेका छन्। बडालको फौजदारी न्याय, वाणिज्य कानुन र संवैधानिक विवादका मुद्दामा समेत लामो अनुभव छ। बडालले पत्रकारका मुद्दामा समेत बहसपैरवी गरेका छन्।
पछिल्लो नेकपा विभाजनका बेला बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो साथ दिएका थिए । गहन अध्ययन, खरो प्रश्तुती र विवादरहित कानून व्यवसायीका रूपमा बडाल न्याय क्षेत्रमा चिनिन्छन्।
विगतमा उनी नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष समेत थिए। उनले त्रिभुवन विश्वविद्यालयको कानून संकायमा श्रम विषयमा विद्यावारिधी गरिरहेका छन्।












