राउटेका मुखमा मास्क !
सुर्खेत, चैत २४ : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले अहिले माक्स लगाउन थालेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा....

सुर्खेत, चैत २४ : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले अहिले माक्स लगाउन थालेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन्।
कोभिड–१९ को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरु बताउँछन्। गुराँस गाउँपालिकाले नियमित जाँच गर्नाका साथै भाइरसका बारेमा जानकारी गराएपछि उनीहरु माक्स लगाउन तयार भएका हुन्।
गाउँपालिकाले अहिले राउटे समुदायको नियमित रुपमा स्वास्थ्यजाँच गर्दै आएको छ। उक्त समुदायमा एक सय ५१ सदस्य छन्। गाउँपालिकाले राउटे समुदायलाई मास्क प्रयोग गर्ने तरिका पनि सिकाएको छ। गाउँपालिकाले राउटे समुदाय सबैको ज्वरो नाप्नाका साथै मास्क वितरण गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन राउटे बस्ती पनि अहिले लकडाउनमा परेको छ। राउटे समुदायका नागरिकलाई बस्तीभन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिलाई पनि राउटे बस्तीमा प्रवेश दिइएको छैन।
राउटेका महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताए। सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाइ आवश्यक रहेको उनको भनाई छ। ‘सरकारको निर्देशनअनुसार अहिले हामी बस्तीभन्दा बाहिर गएका छैनौं उनले भने, ‘हामीलाई मास्क, साबुन र अन्य स्वास्थ्य सामग्री आवश्यक छ।’
राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अनमी सुमन काफ्लेले कुनै पनि राउटेमा उच्च ज्वरो नदेखिएको जानकारी दिए। गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई कोरोनाबाट जोगाउन नियमित स्वास्थ्यजाँच शुरु गरिएको बताए। ‘आवश्यक परेमा जुनसुकै बेला पनि स्वास्थ्यकर्मी खटाउँछौं’, गाउँपालिका अध्यक्ष वलीले भने, ‘अन्य बेलामा भन्दा कोरोनाको संक्रमण फैलिएको अवस्थालाई ध्यानमा राखी समयसमयमा स्वास्थ्य जाँचमा ध्यान दिएका छौं।’
‘अहिलेसम्म राउटे बस्तीमा कुनै किसिमको रोगको संक्रमण देखिएको छैन,’ उनले भने, ‘नियमित स्वास्थ्य जाँचका साथै भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाइमा केन्द्रित हुन्छौंँ।’ उनले बस्ती स्वच्छ राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका काम गरिने बताए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
