‘सुशासनमा दृढ बनेपछि सरकार ढालियो’
उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीलगायत सुशासनसँग सम्बन्धित विषय सरकारले अघि बढाउन थालेपछि आजको अवस्था आएको बताए।
काठमाडौं, असार २८ : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सुशासनसँग सम्बन्धित विषयलाई सरकारले दृढ बनेर अघि बढाएपछि सरकार ढालिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीलगायत सुशासनसँग सम्बन्धित विषय सरकारले अघि बढाउन थालेपछि आजको अवस्था आएको बताए।
‘बेचन झालगायतको गिरफ्तारी हुन थाल्यो र यो प्रक्रिया अघि बढ्यो। यो जनतामा स्थापित विषय हो भन्ने बुझाइ छ,’ उनले भने। उनले कांग्रेस–एमालेबीच षड्यन्त्रपूर्ण ढंगले सहमति भएको पनि बताए।
दुई दलबीच भएको सहमतिलाई अहिलेसम्म सार्वजनिक नगरिएको विषयमा प्रश्न पनि गरे। कांग्रेस र एमालेबीच राष्ट्रिय सहमति भएको भनिएको तर त्यो सहमतिपत्र पनि सार्वजनिक नगरिएकोमा उनको आपत्ति थियो।
‘समय त मध्यरातकै थियो, छलछाल षड्यन्त्रपूर्ण थियो भन्ने देखिन्छ। आजको दिनसम्म सहमतिमा के थियो? कहाँ गयो? किन लुकाएको? छलछाम गरेर राष्ट्रिय सहमति हुँदैन। अझ नैतिकताको कुरा गर्ने?,’ उनले प्रश्न गरे।
शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सरकारले प्रयास गरे पनि विभिन्न अवरोध खडा गरेर पूरा हुन नसकेको बताउँदै उनले उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक दल विशेषको नभएको भन्दै सबै मिलेर टुंगोमा पुर्यानुपर्ने बताए।












