‘दलित, महिला र मधेसको नाममा फेरि आगो बाल्ने दुष्प्रयत्न भयो, त्यो सफल हुँदैन’
‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु यो संसदमार्फत सम्पूर्ण नेपालीलाई हामी विश्वस्त गर्न चाहन्छौं संविधानको पुनरावलोकन, संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि हो। पश्चगमनको लागि होइन, पछाडि फर्किनका लागि होइन,’ भट्टराईले भने।
काठमाडौं, असार २८ : एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आगामी दिनमा दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतका लागि प्रस्तावमाथिको छलफलमा बोल्दै उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताए।
‘दलित, महिला, मधेसको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन, त्यो सफल हुने छैन,’ उनले भने।
भट्टराईले संविधान संशोधन सबैको सहभागितामा अग्रगमनका लागि गरिने बताएका छन्।
‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराख्या छ। हामीले संविधानमाथि पुनरावलोकन गर्ने समीक्षा गर्ने भनेका छौं। प्रधानमन्त्रीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु यो संसदमार्फत सम्पूर्ण नेपालीलाई हामी विश्वस्त गर्न चाहन्छौं संविधानको पुनरावलोकन, संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि हो। पश्चगमनको लागि होइन, पछाडि फर्किनका लागि होइन,’ भट्टराईले भने।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहयोगमै संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेस मिलेको भट्टराईको भनाइ थियो।
भट्टराईले प्रधानमन्त्री दाहाललाई सरकारबाट बाहिरिने क्रममा विभिन्न समुदायको याद आएको बताए।
‘जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित, महिला आज झल्झली प्रधानमन्त्रीलाई याद भयो,’ उनले भने, ‘तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंको लागि हतियार बोकेका तमाम दलित युवा कहाँ छन्, खोज्नभो? आज कसरी याद आयो एकाएक?।’












