‘संसद्बाट आउने परिणामका आधारमा अघि बढ्छु’
‘प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेला जे परिणाम आउँछ, त्यसलाई सामना गरेर अघि जाने कुरा हुन्छ।’
काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट आउने परिणामका आधारमा अघि बढ्ने बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालले भोलि आफूले संसदबाट विश्वासको मत लिने जानकारी गराउँदै भने, ‘प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेला जे परिणाम आउँछ, त्यसलाई सामना गरेर अघि जाने कुरा हुन्छ।’
बैठकमा दाहालले मन्त्रीहरूलाई उनले शुक्रबार संसद्मा संवैधानिक प्रावधान अनुसार ‘फ्लोर टेस्ट’ गर्न लागेको उल्लेख गर्दै हालसम्म सरकारमा रहेका दलहरुले एकजुट हुनुपर्ने बताएको सरकारकी प्रवक्त तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘भोलि शुक्रबार मैले संसद्मा विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा भएका दलहरु एकजुट भएर सामना गर्नुपर्ने हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै सरकार प्रवक्ता रेखा शर्माले भनिन्, ‘संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन खोज्नु भएको हो ।’
एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा छन्। एमाले र जसपाका मन्त्रीहरु फिर्ता भएपछि अहिले माओवादी, रास्वपा र एकीकृत समाजवादीसहित १२ सदस्सीय मन्त्रिपरिषद् छ।
प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सम्बोधन गर्ने तयारी गरेका छन्।












