भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजालले भेटेका थिए प्रधानमन्त्री दाहाललाई
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर रायमाझीले भनेको कुराकानी क्लियर नभएपछि आफूले केपी ओली र पुष्पकमल दाहाललाई भेटाउनुस् भनेको उनको भनाइ छ। त्यसपछि रायमाझीले आफू, सानु र केशवलाई सँगै दाहाल कहाँ लगेको उल्लेख छ।
काठमाडौं, असार २७ : नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफूले टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलालसँगै गएर वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको बयान दिएका छन्।
अदालतले रिजाललाई सोधेका २३ प्रश्नमध्य रिजालले ८औं प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालसँग भेटघाटको कुरा उल्लेख गरेका छन्।
‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने योजना क–कसले बनाउनु भएको हो? तपाईले को मार्फत यसबारेमा जानकारी पाउनुभएको हो? बताइदिनुस्’ भन्ने प्रश्नको उत्तरमा रिजालले दाहालसँगको भेटबारे खुलाएका छन्।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशसमक्ष दिएको बयानमा रिजालले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं।’ बयानमा रिजालले आफूलाई झापाबाट प्लेनको टिकट काटेर काठमाडौं ल्याएर रायमाझीको घरमा पुर्याइएको उल्लेख गरेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर रायमाझीले भनेको कुराकानी क्लियर नभएपछि आफूले केपी ओली र पुष्पकमल दाहाललाई भेटाउनुस् भनेको उनको भनाइ छ। त्यसपछि रायमाझीले आफू, सानु र केशवलाई सँगै दाहाल कहाँ लगेको उल्लेख छ। साथै उनले ओलीसँग भने भेटाउन नसकेको बयानमा उल्लेख गरेका छन्।
भेटमा आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भनेपछि दाहालले ‘म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला। सम्बोधन हुनसक्ने भए समाधान गर्छु’ भनेको रिजालले बयानमा उल्लेख गरेका छन्।
शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाल उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि गत पुसमा रिहा भएका थिए। उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।












