‘मोबाइलको बढ्दो प्रयोग आइटी दशकका लागि प्रभावकारी’
उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने अवस्था सिर्जना भइसकेकाले सरकारको फोकस अहिले ‘हाइवे कभरेज’मा केन्द्रित रहेको बताए।-1720694570.png)
काठमाडौं, असार २७ : संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले आगामी दशकलाई आइटी दशकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताएका छन्।
मोबाइल ब्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसरमा महासंघ र आइटेल मोबाइलको नेपालको विक्रेता महालक्ष्मी मोबाइलको कार्यक्रमलाई काठमाडौमा सम्बोधन गर्दै सुवेदीले मोबाइलको प्रयोग बढेको बताएका हुन्।
उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने अवस्था सिर्जना भइसकेकाले सरकारको फोकस अहिले ‘हाइवे कभरेज’मा केन्द्रित रहेको बताए।
‘चाहे खोल्सी होस, डाँडापाखा, जंगल सबैतिर सेवाको कभरेज हुनुपर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रीत छ,’ उनले भने।
उनले सरकारले मोबाइल सेवाको विस्तारमा फाइभजीलाई समेत प्राथमिकतामा राखेको स्पष्ट पारे।
सुवेदीले मोबाइलको दोस्रो पटकको बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) लाई समेत कार्यान्वयनमा अघि बढाउनुपर्ने बताए। यसले देशको पैसा देशमा नै रोक्न सहयोग पुग्ने उनको भनाइ छ।
उनले मोबाइल व्यवसायका सन्दर्भमा देखिएका जटिलतालाई संवाद र छलफलबाट समाधान गरिनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको समेत बताए।












