संविधान संशोधन कुनै पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक हुने बताए।
विराटनगर, असार २७ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संविधान संशोधन कुनै राजनीतिक दलले मात्र चाहेर नहुने बताएका छन् ।
बिहिवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधान जारी पश्चात कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक हुने बताए। उनले भने–‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुदैँन।’
महामन्त्री थापाले नयाँ सत्ता समिकरणका लागी नेपाली काँग्रेस र नेकमा एमालेका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए । सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत छलफल पछि त्यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्छ उनले भने ।
महामन्त्री थापाले लिखित रुपमा भएको सहमतिलाई कसैले पनि हलुका रुपमा लिन नहुने समेत बताए ।






