कांग्रेस–एमाले समान हैसियतमा सरकार सञ्चालन गर्छौ : ज्ञवाली

काठमाडौं, असार २६ : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेस–एमाले बिचको सहकार्यमा बन्ने नयाँ सरकार समान हैसियतमा सञ्चालन गर्ने बताएका छन्।
बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको बताए।
उनले भने–‘अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टिमलाई पठाउँनुपर्छ भन्ने नीतिगत निर्णय गरको छौं, एमाले र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ । यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिने कुरामा सकारात्मक छौं।’
भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समिकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको ज्ञवालीको भनाई छ।












