‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’
-1720521706.jpeg)
काठमाडौं, असार २५ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको कांग्रेस–एमाले गठबन्धनविरुद्ध सबै माओवादी एक भएर लड्ने उदघोष गरेका छन्।
संविधान संशोधन गरेर समानुपातिक र समावेशीलगायतका उपलब्धीको रक्षाका लागि जस्तोसुकै संघर्षमा जान सकिने नेताहरुले चतावनीसमेत दिएका छन्।
मंगलबार काठमाडौंमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य माइला लामाले निरकुमार राईजस्तै हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन्।
उनले नेकपा माओवादी केन्द्रतिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडि बढेको बताए।
‘जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो,’ उनले भने।
लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौं यूवाहरु पलायन हुन बाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको बताए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नुपर्ने धारणा राखे।
यस्तै, राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन, सहिद कुमार पौडेलकी दिदी, सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो।












