कैलालीसँग सीमा जोडिएका सबै झोलुङ्गे पुल बन्द
धनगढी, चैत २३ : सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ।
कैलालीमा ....

धनगढी, चैत २३ : सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ।
कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि चौकुने गाउँपालिकाले आइतबारदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो। गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका झोलुङ्गे पुल, भेरी पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको जानकारी दिए।
उनका अनुसार कैलाली जोड्ने कर्णाली नदीका कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोलापाखा झोलुङ्गे पुल सञ्चालनमा समेत रोक लगाइएको छ। जामु कुइने कैलाली जोड्ने यहाँको मुख्य नाका हो। सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र कैलाली जिल्लासँग सीमा जोडिएको यस गाउँपालिकाले कैलालीमा सङ्क्रमण भेटिएपछि उच्च सतर्कता अपनाएको हो। गाउँपालिकाले पुलका साथै फेरी, डुङ्गा सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ।
त्यस्तै, अछाम जोड्ने कोलीभरा, मालुमेला, टटाली र डोटी जोड्ने पुक्रे बलाता, तालागाउँ काटई झोलुङ्गे पुल पनि पूर्णरुपमा बन्द गरिएका छन्। “फेरी, डुङ्गा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडाध्यक्षले स्वयंसेवक टोली परिचालन गर्नेछन्”, अध्यक्ष शाहीले भने, “यसका लागि प्रतिवडा कम्तीमा १० जनाको स्वयंसेवक टोली खटाउन आवश्यक निर्देशन दिएका छौंँ।” रासस










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
