‘विश्वासको मतका लागि ३० दिन नै लेओस्, तर सरकार सदनप्रति उत्तरदायी बनोस्’
सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने लेखको भनाइ थियो।
काठमाडौं, असोज २५ : प्रमुख प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिएपनि आपत्ति नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष सायमा बोल्दै सांसद लेखकले विश्वासको मतका लागि ३० दिन लिए पनि सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने बताए।
लेखकले सरकारले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट कति जनधनको क्षति भएको हो भन्ने कुराको यकीन जानकारीका साथै उद्धार र राहतमा के काम भइरहेको छ भन्ने कुराको जानकारी गराउनुपर्ने माग गरे।
‘सरकार विश्वासको मत लिने तयारी गरिराख्या छ, संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठ्या छ, त्यसमा केही द्विधा छैन । सरकारले पूरै ३० दिन लेओस्। हिजो २८ गते त थोरै मात्र हुन्छ २१ दिन थप्न सकिन्छ पनि भन्नुभयो, त्यो पनि थप्दा हुन्छ। आपत्ति छैन,’ लेखकले भने, ‘सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्यो। भनिदिनुपर्यो कति मानिसहरूको मृत्यु भएको हो? कति घाइते भएका छन? कतिको उपचार भइरहेको छ?’
सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने लेखको भनाइ थियो।
मुलुकमा प्राकृतिक प्रकोपको कारणले भएका क्षतिको जानकारी पत्रपत्रिकामा प्रकाशित तथ्यांक पढेर जानकारी पाउनुपर्ने बाध्यता रहेको उनले बताए।












